काठमाडौं। पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल अचानक बिरामी परेपछि काठमाडौं ल्याइएको छ।
सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अचानक नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको थियो। त्यहाँबाट फेरि बुद्ध एयरको विमान हुँदै उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन्। रुकुम पश्चिमको सानिभेरी गाउँपालिका बेलटापुमा जेठ १२ गतेदेखि सञ्चालन भइरहेको सांगीतिक कार्यक्रममा उनले प्रस्तुति दिने तयारी थियो।
आयोजक समितिका डिल्ली परियारले गायिका रिमाल मंगलबारको प्रस्तुतिका लागि आएको तर पेट दुखेको जानकारी पछि चौरजहारी अस्पताल तत्कालै पुर्याइएको जानकारी दिएका थिए।
सो क्रममा दुखाइ कम नभएपछि पुन: नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको थियो।
हाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ।



