मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुर क्यान्सर अस्पतालमा फोहोर ब्यवस्थापन गर्न बायोग्यास प्लान्ट र स्रेडिङ मेसिनको प्रयोग

भरतपुर क्यान्सर अस्पतालमा फोहोर ब्यवस्थापन गर्न बायोग्यास प्लान्ट र स्रेडिङ मेसिनको प्रयोग

images
२०८२ जेठ २७ गते, मंगलवार
२०८२ जेठ २७ गते, मंगलवार
  • भरतपुर। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अस्पतालबाट निस्किएका फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्दै विभिन्न प्रविधिमार्फत ब्यवस्थापन गर्दै आएको छ।

    images

    अस्पतालले पर्यावरणमैत्री रुपमा फोहरको स्रोतमा नै वर्गीकरण गर्न पुनः प्रयोग हुने वस्तुलाई अलग्गै राख्ने गरेको छ भने कुहिने वस्तुबाट बायोग्यास निकाल्ने गरिएको छ।

    images

    यसैगरी माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहरलाई घटाएर निःसङ्क्रमित बनाउने गरिएको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए।

    मिश्रका अनुसार अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा दुईवटा प्रविधि प्रयोग गरिएको छ। बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिने उनी बताउँछन।
     
    माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो। अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहर मिसाएर राख्न सकिन्छ। यो मेसिनको क्षमता दुई सय ५० लिटर छ।

    “यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ, मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ।” मिश्रले भने।

    प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्राको आकारमा निस्कने गर्छ। यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए। यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ।

    सो टेक्नोलोजीले वातावरणीय प्रदूषणलाई समेत नियन्त्रणमा राख्नेछ। यस्तै मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।

    अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुने गरेको छ। ती फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिने गरिएको छ।

    वार्डहरूबाट फोहर सङ्कलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ। त्यसपछि सङ्कलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ।

    फोहोर प्रसोधनमा संलग्न कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइने गरिएको छ। 

    अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तरराष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले जानकारी दिए।

    अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उनले बताए।

    अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना बनाएको छ।

    अस्पतालले हाल अस्पातलबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुङ्गाहरूको प्रयोगबाट शुद्धीकरण गर्ने गरेको छ। शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेल बताउँछन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend