काठमाडौ। नेपाल औषधि थोक व्यवसायीसंघ (पिडान) ले स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेललाई औषधि ब्यवसायमा देखिएका समस्या बारे ध्यानाकर्षण गराउँदै सुझावपत्र बुझाएको छ।
संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा सोमबार स्वास्थ्य मन्त्रीलाई भेटेको प्रतिनिधि मण्डलले मौजुदा औषधि ऐन, स्वास्थ्य बीमा वक्यौताको समस्या लगायतका कारण औषधिका थोक व्यवसायीहरुले झेल्दै आएको विविध समस्या निराकरणको माग सहित ध्यानाकषर्ण तथा सुझाव पत्र बुझाएको हो।
सुझावपत्रमा अस्पतालका लागि टेन्डरमार्फत पठाइएका औषधिहरुसमेत बजारमा बिक्रि हुने गरेको पाईएको भन्दै टेन्डर प्रक्रियामार्फत अस्पतालका लागि पठाइएका औषधिमा खुद्रा विक्री मूल्य नराखी संस्थागत सप्लाई उल्लेख गरिनु पर्ने सुझाव दिइएको छ।
पत्रमा स्वास्थ्य बीमाको बक्यौता रकम रोकिंदा औषधि ब्यवसायीको समेत बक्यौता उठ्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने सोचको यथार्थपरक कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै औषधि बजारमा एकाधिकार कायम गर्ने मनसाय सहित एनओसी लिनु पर्ने प्रवृति मौलाउँदै आएको भन्दै संघले यस्ता वेथितिको अन्त्य गर्दै औषधिको बजारलाई सुरक्षित र मर्यादित बनाउन नियामक निकाय लगायत सम्वद्ध सबैलाई विशेष सर्कुलर जारी गर्न आवश्यक रहेको विषयमा ध्यानकर्षण गराएको छ।
संघले औषधि बजारमा औषधि ऐन २०३५ र सोसँग सम्बन्धित नियमावली विपरितका क्रियाकलापसंगै औषधि सप्लाइ चेनको पारदर्शिता, गुणस्तरको निगरानी र निमनको विषयमा समेत ध्यानाकर्षण गराएको संघका अध्यक्ष नेपालले एक्सरे नेपाललाई जानकारी दिए।
संघले बुझाएको पत्र बुझ्दै मन्त्री पौडेलले प्राप्त सुझावलाई थप अध्ययन गरेर आवश्यक प्रक्रियामा लगिने आश्वासन दिएका थिए।
त्यसअघि संघले स्वास्थ्य सचिव सहितको विभागीय सरोकारवाला अधिकारीसँगको घनिभुत छलफलको क्रममा पछिल्लो समय औषधि व्यवसायीले झेल्दै आएका समस्याबारे जानकारी गराएका थिए।



