काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीले छलफल गरेका छन।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरे।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी थिए।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट पारे।
“तपाईँहरु कसैको दबाबमा नपर्नुस्। स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन। आवश्यक सहयोग गर्छ।’’, प्रधानमन्त्री ओलीले भने। दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए।



