काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंको अनामनगरमा आयोजित बृहत् स्वास्थ्य शिविरको समुद्घाटन गर्दै मन्त्री पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारको प्रयास भैरहेको बताएका हुन।
मन्त्री पौडेलले भने,‘केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो। हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ। बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ। उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ।’
स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए।
कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियारले दैनिकजसो काममा खटेर पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा स्वास्थ्य शिविरले केही राहत दिने बताए ।
सम्पन्न स्वास्थ्य शिविरमा चार सय २५ जना पत्रकारले स्वास्थ्य परिक्षण गराएको काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले जानकारी दिए।
उनले भने,‘हामीले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिविरको आयोजना गरेका हौँ। सधै कार्यस्थलमै खटिनुभएका पत्रकारले आज कामसँगै आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन पाउनुभयो। यो शिविरले कामसँगै स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भन्ने सबैलाई संदेश दिएको छ।’
स्वास्थ्य शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण, तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट आँखाको जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकबाट महिलाको पाठेघर र स्तन क्यान्सरको परिक्षण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विशेषज्ञ चिकित्सकबाट मृगौला र मदुमेह जाँच, चिरायु डेन्ट केयरका विशेषज्ञ चिकित्सकबाट दन्त परिक्षण गरिएको थियो।
स्वास्थ्य शिविरका लागि ‘लाज शरणम’ का निर्माता नवीन श्रेष्ठ, ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपानेले सहयोग गरेका थिए। फिल्म निर्माता श्रेष्ठले पत्रकारको स्वास्थ्य प्राथमिकतामा रहनु पर्नेमा जोड दिदै यस्ता शिविर भइरहनु पर्ने धारणा व्यक्त गरे।
‘सधै अरुको खबर सम्प्रेषण गर्न व्यस्त रहने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएको स्वास्थ्य शिविरलाई सम्पन्न गर्न हामी सबैले सहकार्य गर्नुपर्छ। यसबाट दिनहु काममै व्यस्त रहने पत्रकारले लाभान्वित भएका छन्, यो प्रेरणादायी कार्य हो’, निर्माता श्रेष्ठले भने।
उनी निर्देशक वसन्त श्रेष्ठ र लेखक सुशील पौडेललाई लिएर नयाँ फिल्म ‘पाँच पाण्डव’ को निर्माणमा जुटेका छन्।
उक्त फिल्ममा ‘वडा नम्बर ६’ पश्चात दीपकराज गिरी, केदार घिमिरे, सिताराम कट्टेल र जीतु नेपाल एकसाथ देखिदैछन्। उक्त शिविर विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो।



