काठमाडौं। स्वास्थ्य बीमा बोर्डले ९० दिनका लागि १८० जना मेडिकल अधिकृत माग गरेको छ।
करार सेवामा नियुक्त गर्ने गरि बोर्डले विज्ञापन आह्वान गरेको हो। बोर्डले आइतबार एक सार्वजनिक सूचना मार्फत ९० दिन कार्यअवधी तोकेरै मेडिकल अधिकृत मागेको हो।
बोर्डले करार सेवामा काम गर्ने गरि मागेका यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने तयारी गरेको छ।
बोर्डका सूचना अधिकृत विकेश मल्लका अनुसार बोर्डले गत साउन यताको झण्डै ११ महिनाको रिभ्यू गर्न बाँकी छ। जनशक्ति अभाव हुँदा रिभ्यु बाँकी रहेको उनको भनाइ छ। जसका कारण बाँकी रकम पनि भुक्तान भएको छैन।
गत १५ असारको बजेट बक्तव्यमा बोर्डको पुनर्संरचना गर्ने तथा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फर फारक गर्ने उल्लेख छ। सोही बक्तव्यलाई समेत कार्यन्व्यनमा ल्याउनका लागि बोर्डले जनशक्ति थप गर्न लागेको हो।
अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन्।
पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरिसकेको छ।
सूचना अधिकृत मल्लका अनुसार अहिले मागिएको मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ भने नेपाल सरकारले तोकेको आठौँ तहको सुविधामा उनीहरुले काम गर्नुपर्नेछ।
सूचनामा बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनिएको छ।




