काठमाडौ। पछिल्ला दिनमा भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या बढ्दै गएको छ। भारतीय सरकारी संयन्त्रका अनुसार आज बिहानसम्म सक्रमितको संख्या २ हजार ३९० पुगेको छ। केरलामा सबैभन्दा बढी ७२७ संक्रमितहरू देखिएका छन्।
सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो। योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन्।
भारतका धेरै राज्यहरूमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको बेला त्यहाँ चार नयाँ भेरियन्टहरू फेला परेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका भएको बताइन्छ। नयाँ भेरियन्टहरू पत्ता लगाउन अन्य ठाउँहरूबाट नमूनाहरू लिइँदैछ र अनुक्रमण गरिँदैछ।
भारतमा देखिएको नयाँ भेरियन्टमा सङ्क्रमितको अवस्था धेरै गम्भीर नरहेकाले चिन्ता लिनु नपर्ने तर सतर्क भने रहनु पर्ने चिकित्सकहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसलाई चिन्ताको विषय मानेको छैन।
यद्यपि, यसलाई निगरानीमा रहेको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ। चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा पनि यी भेरियन्ट देखिँदैछ।
नेपालमा भने शुक्रवारसम्म कोरोनाको कुनै नया भेरियन्ट देखिएको छैन। राष्ट्रिय प्रयोगशाला टेकुका सुचना अधिकारी डा संतोष सुवेदीले नेपालमा कुनै पनि नयाँ केसहरु नदेखिएको जानकारी दिए।
`राष्ट्रिय प्रयोगशालामा नियमित रुपमा कोरोना परिक्षण हुन्छ, अहिलेसम्म कुनपनि नयाँ केस रिपोर्ट भएको छैन, आत्तिनु पर्ने अवस्था नेपालमा छैन।´ उनले भने।
केही दिन अघि काभ्रेमा केही ब्यक्तिमा संक्रमण पुष्टि भएको बारेको प्रश्नमा समेत उनले सो बारे कुनै जानकारी नभएको बताए। यस्तै राष्ट्रिय प्रयोगशालामा पनि संक्रमित देखिएको भन्ने हल्ला सुनेको भन्दै उनले त्यसमा पनि सत्यता नभएको जानकारी दिए।



