काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको वजेटमा विद्यालयमा निःशुल्क दिइने स्यानिटरी प्याड वितरण कार्यक्रमले पनि निरन्तरता पाएको छ।
सरकारले बिहीबार प्रस्तुत गरेको वजेटमा विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड वितरण गर्न १ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका हुन। सो कार्यक्रमबाट १३ लाख छात्रा लाभान्वित हुनेछन।
`विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिई रु. १ अर्ब २९ करोड विनियोजन गरेको छु। यसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन्।´ वजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने।
दिवाखाजा कार्यक्रमको रकम वृद्धि
प्रस्तुत वजेटमा सरकारले विद्यालयमा विद्यार्थीलाई उपलब्ध गराइने दिवाखाजा कार्यक्रमको रकमसमेत वृद्धि गरेको छ।
सरकारले कक्षा पाँच सम्मका विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराउँदै आइरहेको छ।
`कक्षा पाँचसम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवाखाजा कार्यक्रमको रकम वृद्धि गरी रु.१० अर्ब १९ करोड विनियोजन गरेको छु। यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन्।´ वजेट वक्तव्यमा भनिएको छ।



