मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल

images
२०८२ जेठ १५ गते, बिहिवार
२०८२ जेठ १५ गते, बिहिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका छन। 

    images

    गणतन्त्र दिवस २०८२ का अवसरमा आफ्नो शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने बताए। 

    images

    ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु।’  राष्ट्रपतिद्वारा ब्यक्त शुभकामनामा भनिएको छ।

    अहिले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही नभई ढिलासुस्ती, अनियमितता र बेथिति भएको तथ्य जगजाहेर भएको पनि राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

    ‘यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।’

    राष्ट्रपति पौडेलले आज नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, न्यायोचित वितरण र  सामाजिक न्यायको प्रवन्ध खोजेको भन्दै आर्थिक विकास बिना यी केही पनि सम्भव नभएको स्पष्ट पारेका छन।

    सन्देशमा भनिएको छ –‘त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ। अनिमात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ। अनिमात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ। अनिमात्र गणतन्त्रलाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ। अनिमात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्। अनिमात्र हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो।’

    उनले गणतन्त्र केवल एक राजनीति व्यवस्था मात्र नभएर यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताए।

    ‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ।  म आशा गर्छु, गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ। गणतन्त्र केवल एक व्यवस्था हैन। यो त आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो। यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्। त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ।’

    राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएको उल्लेख गरे।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको भन्दै यसले देशवासीलाई जोडेको र एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको बताएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend