काठमाडौं। भक्तपुर क्यान्सर अस्पतालले पुर्वी नेपालका चार पहाडी जिल्लाहरूमा ४५ सय भन्दा बढी ब्यक्तिमा क्यान्सरको स्क्रिनिङ गरेको छ।
पूर्बी पहाडी जिल्लाहरु ईलाम, पाँचथर, संखुवासभा र धनकुटामा ६ दिनसम्म गरिएको परिक्षणका क्रममा ४५ सय बढी ब्यक्तिको क्यान्सर स्क्रिनिङ गरिएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए।
डा चालिसेका अनुसार ती जिल्लाहरूमा करिब ४ हजार महिला र करिब ५ सय पुरुषको क्यान्सर स्क्रिनिङ गरिएको छ। यस्तै ती जिल्लाहरूमा जनचेतनामार्फत परामर्श सेवा पनि दिइएको छ।

महिलाहरुमा पाठेघर तथा स्तनको क्यान्सरको स्क्रिनिङ गरिएको छ भने केही पुराना क्यान्सरका बिरामीहरुको अवस्थाको समेत जाँच गरिएको छ।
यस्तै विभिन्न विद्यालयमा अध्य्यनरत ३०० सय विद्यार्थी लाई सचेतना तालिम दिएको डा चालिसेले जानकारी दिए।
परिक्षणका क्रममा बिभिन्न समस्याहरु पहिचान गरिएका र क्यान्सरको सम्भावना देखिएका करिब ३० जनालाई भक्तपुर क्यान्सर अस्पातल रेफर गरिएको छ।
`भक्तपुर क्यान्सर अस्पतालमा शिविरबाट आएका सम्पूर्ण बिरामीको नि:शुल्क उपचारको ब्यबस्था मिलाएका छौं, परिक्षणका क्रममा लिइएका नमुनाको रिपोर्ट हामी दुई हप्तामा सम्बन्धित ब्यक्तिको हातहातमा पठाउँछौं।´ भक्तपुर क्यान्सर अस्पतालका निर्देशक चालिसेले भने।

भक्तपुर क्यान्सर अस्पातलले गत जेठ ८ गते पुर्वी नेपालको इलामबाट इलाम अस्पतालसँगको समन्वयमा क्यान्सर रोगको स्क्रिनिङ शुरु गरेको थियो।
यस्तै दोस्रो र तेस्रो दिन जेठ ९ र १० गते पाँचथर जिल्लाको फिदिममा रहेको जिल्ला अस्पतालमा महिलाहरूको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिएको थियो भने चौथो दिन जेठ ११ गते संखुवासभा जिल्लाको धर्मदेवीस्थित मुडे शनिश्चरेमा महिलाहरूको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिएको थियो।
यसैगरी छैटौँ दिन जेठ १३ गते (आज) धनकुटा जिल्लाको पाख्रीबासमा परिक्षण कार्यक्रम गरिए सँगै परिक्षण कार्यक्रमको समापन गरिएको हो।

परिक्षणका क्रममा विशेषज्ञ चिकित्सकको परामर्श सेवा, प्याप स्मियर (Pap Smear) परीक्षण, लिक्विड बेस्ड साइटोलोजी, स्तन क्यान्सर स्क्रिनिङको लागि अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको थियो।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेले शिविर संचालन गर्न सहयोग गर्ने जिल्ला अस्पतालसहित स्थानीय ब्यवस्थापक, स्थानीय तह, चिकित्सक टिम लगायतलाई समेत धन्यवाद दिएका छन।

भक्तपुर क्यान्सर अस्पतालले गत चैतमा सुदुरपश्चिम प्रदेशमा समेत पुगेर महिलाहरूको पाठेघर र स्तनको क्यान्सरको स्क्रिनिङ गरेको थियो। यस्तै गत बैशाखमा सिन्धुलीमा समेत क्यान्सरको स्क्रिनिङ गरिएको थियो।










