काठमाडौं। भिजिट भिसा प्रकरण लगायत समसामयिक विषयमा छलफल गर्न भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान साँढे नौ बजेका लागि बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।
बैठकमा भिजिट भिसा प्रकरणमा पार्टीका नेता तथा गृहमन्त्री माथि भैरहेको आक्रमण, पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट लगायतमा छलफल हुने एक नेताले जानकारी दिए।
प्रतिपक्षी दल रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर अब बस्ने संसद बैठक सामान्य नहुने चेतावनी दिएपछि कांग्रेसले छलफल गर्न भन्दै पदाधिकारी बैठक डाकेको हो। रास्वपाले गृहमन्त्री रमेश लेखकको राजिनामा मागिसकेको छ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोप लागेपछि अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन। उनीमाथि अनुसन्धान जारी छ।
भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको समेत नाम मुछिएपछि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग पार्टीभित्र समेत उठेको छ। सो प्रकरणलाई लिएर कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्दै पार्टीभित्र फरक-फरक धारणा आइरहेका छन्।
तर लेखकले भने सो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका छन। सो प्रकरणमा लेखकको सचिवालयमा रहेका केही कर्मचारी पनि मुछिएका छन। गृहले केहीको सरुवा पनि गरेको छ।
कांग्रेस पदाधिकारी बैठकमा पार्टीको सदस्यता नवीकरणका लागि भैरहेको कामका विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ।
यस्तै सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संसदमा पेस गर्ने वजेटका विषयमा पनि छलफल हुने छ। बजेट जेठ १५ गते संसद्मा पेस हुँदैछ।



