मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नो लाइट शाखाको निरीक्षण पछि उर्जा मन्त्रीले भने - "लोडसेडिङ हुँदैन, हुन दिइँदैन"

नो लाइट शाखाको निरीक्षण पछि उर्जा मन्त्रीले भने - "लोडसेडिङ हुँदैन, हुन दिइँदैन"

images
२०८२ जेठ ११ गते, आइतवार
२०८२ जेठ ११ गते, आइतवार
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन।

    images

    नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिए।

    images

    मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पार्दै भने, “लोडसेडिङ हुँदैन, हुन दिइदैन।”

    उनले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गरे।

    “विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,” उनले भने, “अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ। कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ। अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन्।”

    स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित LDC (लोड डिस्प्याच सेन्टर) को समेत आकस्मिक अवलोकन गरे। उनले LDC मार्फत मुलुकभरको विद्युत प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिएका थिए।

    मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशनसमेत दिए।

    उनले बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आम जनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहन जोड दिए। साथै, “हामी सस्तोमा बिजुली किनेर अहिले भारतलाई उच्च मूल्यमा बेच्न सफल भएका छौं,” भन्दै उनले विद्युत व्यापार राष्ट्रको हितमा प्रयोग भइरहेको पनि बताए।

    निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति थियो।

    सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले स्पष्ट पारे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend