काठमाडौं। नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएकाे छ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै दिन अर्को एकै ब्यक्तिमा प्रत्यारोपण गरिएकाे हाे। ती ब्यक्ति ५१ वर्षका छन। यस्तै अर्को एक ब्यक्तिमा मिर्गौला मात्रै प्रत्यारोपण गरिएको छ। मिर्गौला मात्र प्रत्यारोपण गरिएका उनी ४२ वर्षकी महिला हुन।
नेपालमा एकै ब्यक्तिबाट लिइएको दुबै अंग अर्को एकै ब्यक्तिमा प्रत्यारोपण गरिएको यो नेपालमा पहिलो तथा विश्वमा नै दुर्लभ हो। यसअघि यो किसिमको प्रत्यारोपण नेपालमा भएको थिएन। सो प्रत्यारोपण जेठ १ गतेका दिन सम्पन्न भएको थियो।
प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै दिन अर्को एकै ब्यक्तिमा प्रत्यारोपण गरिएकाे र यो केन्द्रका लागि अर्को सफलता भएको बताए।
सो प्रत्यारोपणमा सबै नेपाली विज्ञ चिकित्सकहरु नै सहभागी भएको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिएका हुन। प्रत्यारोपण गरिएका दुबै ब्यक्ति केन्द्रमा नै हाल स्वास्थ्यलाभ गरिरहेको केन्द्रले जनाएको छ।
प्रत्यारोपणमा कोको थिए?
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै दिन अर्को एकै ब्यक्तिमा प्रत्यारोपण गर्ने जटिल शल्यक्रियामा केन्द्रका निर्देशक डा श्रेष्ठ आफैले गरेका थिए। उनी नेतृत्वको प्रत्यारोपण समुहमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का थिए।
यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए। यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर बज्राचार्य सहभागी थिए।
यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए। प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए। यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गरेका थिए।
यसैगरी नर्सिङ विभागबाट निर्देशक पूजा कोइराला, इन्चार्जहरू अस्मिता कटुवाल, बबिता लवजू, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले प्रत्यारोपणमा डा श्रेष्ठको समुहलाई सघाएको थियो भने फोकल पर्सन गौरव पन्थ तथा रामचन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी लिएका थिए।
यसरी प्राप्त भएको थियो मस्तिष्क मृत्यु भएका ब्यक्तिको अंग
सवारी दुर्घटनामा परेर मस्तिष्क मृत्युु भएका १८ वर्षका ब्यक्तिलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा राखिएको थियो। चिकित्सकहरुको सुझाब अनुसार उनका आफन्त मस्तिष्क मृत्यु पश्चात् सो ब्यक्तिका अंग अरुलाई दान गर्न सहमत भए। त्यसपछि ती ब्यक्तिको अंग निकालिएको थियो।
सो अंगदान कार्य सफल गर्नका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलका सञ्चालक सुनील शर्मा, सर्जन डा. रोशन घिमिरे, नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिस्ट डा. विजय केसी, पोस्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठलगायतबाट सकारात्मक सहयोग प्राप्त भएको मानव अंग प्रत्यारोपण केन्द्रले जनाएको छ।
यसरी प्राप्त भएको अंग अस्पतालमा उपचाररतमध्ये प्राथमिकताका आधारमा उपलब्ध गराइएको केन्द्रले जनाएको छ।
मस्ष्कि मृत्यु भएको व्यक्तिको अंगबाट हालसम्म १२ जनाको मिर्गौला र ४ जनाले कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
एक ब्यक्तिको अंगले आठ जनालाई लाभ
नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यू हुने गरेको बताइन्छ। काठमाण्डौ उपत्यकामा मात्रै एक वर्षमा करीब १ हजार ब्यक्तिको मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ।
एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट निकालिएको अंग ८ जना सम्ममा प्रत्यारोपण गर्न मिल्ने चिकित्सकहरु बताउँछन। एक मस्तिष्क मृत्यु भएका ब्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्र गरी आठ जनाले पुर्नजीवन पाउन सक्दछन।



