काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिएर छानबिनमा सघाउन सुझाएका छन।
शनिबार बिराटनगर पुगेका कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भिजिट भिषाका सन्दर्भ जोडेर अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए।
विगतमा पनि केही मन्त्रीहरुले प्रश्न उठेपछि राजिनामा दिएर छानबिनमा सघाएको कोइरालाले भनेका छन। राजिनामा दिंदा आफ्नै नैतिकतामा बल पुग्ने उनको दाबी छ।
कोइरालाले हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा जनमत संग्रहबाट आवश्यक निर्णय लिनु उचित हुने समेत बताए। लोकतन्त्रमा राजनीतिक दलले जनमतसंग्रहलाई डरका रुपमा लिन नहुने पनि कोइरालाको भनाइ छ। उनले पछिल्लो समय यो विषयलाई समेत जोडेर आफ्नो अभिव्यक्ति दिंदै आइरहेका छन।
नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेन्ट क्लबजस्तो बनेकाले कर्मचारीहरूका लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि स्पष्ट पारे।



