काठमाडौं। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–१ की मनिषा बिककी २१ महिनाकी छोरी आध्या दुर्लभ स्नायु सम्बन्धी रोग हाइपरम्याङ्गानेसेमियाबाट पीडित थिइन्। प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने बालिका पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि परिवारमा गम्भीर चिन्ता उत्पन्न भयो।
निकै प्रयासपछि आध्यालाई अन्ततः काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल ल्याइयो। जहाँ पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले उनको परीक्षण गर्यो। एमआरआई तथा अन्य जाँचपश्चात् डा. मिश्रले उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि गरे जुन रोग दुनियाँमै अत्यन्तै दुर्लभ मानिन्छ।
यो रोग मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको हुन्छ र यसको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ। यद्यपि डा. मिश्र र उनको विशेषज्ञ टोलीले तत्कालन उपचार प्रक्रिया सुरु गरे। केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइन। अहिले उनी पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छिन्।
“छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनिषा बिकले भनिन्।
नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक चरणमा रहेको बेला ती बालिकाको जटिल रोगको सफल पहिचान र उपचार ऐतिहासिक मानिएको छ। डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन्।



