काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटसँग लुम्बिनीलाई खतराको सूचीमा नराख्ने तर्फ पहल गरिदिन आग्रह गरेका छन।
सिंहदरबारस्थित संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताका क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल भएको थियो।
मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए।
साथै पाण्डेले लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यकता रहेको बारे आफ्नो धारणा राखे।
युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएको बताए।
भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरेको उनको सचिवालयले बताएको छ।
भेटका क्रममा मन्त्री पाण्डेले लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गाराएको सचिवालय बताउँछ।



