काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायत सरकारसँग नेपालको स्वास्थ्य सेवा सुधारमा सहकार्यको प्रस्ताव गरेका छन।
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटवार्ताका क्रममा बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उपमन्त्री एस्ले डाल्टनसँग स्वास्थ्यमन्त्री पौडेलले यस्तो प्रस्ताव गरेका हुन।
सो क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि समेत बेलायत सरकारलाई आभार व्यक्त गरेका छन।
सो क्रममा मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारेमा समेत कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा अस्पताल सेवा सुधारको विषयमा पनि कुराकानी भएको बताइएको छ।

बेलायती उपमन्त्री डाल्टनले नेपालको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको प्रयासको प्रशंशासहित नेपाल र बेलायतबीचको लामो मित्रताको चर्चा गर्दै थप सहकार्य वृद्धि हुने अपेक्षा गरिन्।
मन्त्री पौडेलले सम्मेलनका क्रममा विभिन्न देश तथा संस्थाका स्वास्थ्य अधिकारीहरुसँग कुराकानी गर्दै नेपालको स्वास्थ्य सेवा सुधारमा सहकार्यको प्रस्ताव गरेका थिए।
उनले भारतकी स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवसँग समेत नेपाल भारतको स्वास्थ्य सहकार्यका विविध आयामबारे चर्चा गरेका थिए।
मन्त्री पौडेलले विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग समेत बसाइका क्रममा स्वास्थ्य सेवा सुधारका लागि सहकार्यबारे कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ।


