दार्चुला। दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा पर्ने चार हजार मीटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन हुने भएको छ।
अपि हिमाल गाउँपालिकाको आयोजनामा स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।
कार्यक्रम आगामी जेठ १६ गते अपि हिमाल बेसक्याम्पमा आयोजना हुनेछ भने त्यसअघि जेठ १२ र १३ गते गाउँपालिका परिसरमै विविध जागरण कार्यक्रमहरूमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्व दर्शाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ।
गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार शिविरमा पालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, पर्यटक र अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहनेछ।
शिविरमा प्रशिक्षकका रूपमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने रहनेछन्। यस अवसरमा "स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि" विषयमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ, जसलाई नेपाल सरकार सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले सञ्चालन गर्नेछन्।
दार्चुला सुदूरपश्चिम प्रदेशको एक विकट तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले समृद्ध जिल्ला हो। अपिहिमाल गाउँपालिका नेपालको एक प्रमुख हिमाली क्षेत्र हो, जहाँ ७,१३२ मिटर उचाइमा रहेको प्रसिद्ध अपिहिमाल शिखर अवस्थित छ। यो शिखर स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि ट्रेकिङ तथा पर्वतारोहण गन्तव्यका रूपमा उदाउँदै गरेको क्षेत्र हो।
पालिकाका अध्यक्ष बोहराले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाइएको जानकारी दिए।
बोहराले अपिहिमाल प्राकृतिक सौन्दर्य, शान्त वातावरण, शुद्ध हावा र हिमाली परिवेशले भरिपूर्ण क्षेत्र भएकाले यहाँ योग, ध्यान तथा मानसिक सन्तुलनका लागि अत्यन्त उपयुक्त वातावरण रहेको बताए।
यस्ता शिविरहरूले अपिहिमाल क्षेत्रलाई योग, ध्यान तथा पदयात्राको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यमा टेवा पुर्याउने आयोजकको विश्वास छ।



