काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्राडा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस अघि बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेल सहित तीन जनाको नाम मन्त्री परिषद्मा सिफारिस गरेको थियो।
अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले क्रमशः प्राडा पौडेलसहित कामु गभर्नर निलम पौडेल र नेपाल सरकारका पुर्व सचिव दिनेश भट्टराईको नाम मन्त्री परिषद्मा सिफारिस गरेकोमा सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापकसमेत हुन्।
यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो भने गभर्नर नियुक्त गर्न सरकारलाई सकस परिरहेको थियो।
नवनियुक्त गभर्नर पौडेललाई बैंकिङ क्षेत्रमा रहेको उच्च तरलता समस्या र बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रिय कर्जाको समस्या अन्त्य गर्नुपर्ने चुनौती छ।



