काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेल नियुक्त हुँदै छन।
मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि डा पौडेल गभर्नर बन्ने पक्का भएको हो। उनलाई आजै बस्ने मन्त्री परिषद् बैठकले गभर्नर नियुक्त गर्दैछ।
कांग्रेस सभापति देउवाले डा पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई वालुवाटार पुगेर आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले आजै मन्त्रीपरिषद बैठक बोलाएका छन।
हिजो सोमबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठक स्थगित गराएका थिए। देउवा र ओलीबीच सहमति नहुँदा मन्त्रीपरिषद स्थगित भएको थियो।
`सभापति ज्यु र प्रधानमन्त्रीबीच भेट भएपछि गभर्नरको नाम टुंगिएको हो, आजै मन्त्रीपरिषद्ले नियुक्त गर्ने कुरा छ।´ कांग्रेस उच्च स्रोतले एक्सरे नेपालसँग भन्यो।
मन्त्रीपरिषद बैठक अघि गभर्नर सिफारिस गर्न अहिले सिफारिस समितिको बैठक बसिरहेको छ। समितिले तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ। गभर्नरका लागि डा पौडेलसँगै डेपुटी गभर्नर नीलम ढुगानासहित तीन जनाको नाम सिफारिस गर्ने तयारी छ।
त्यसपछि आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ। पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन्।



