बैतडी। बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ। खोप अभावपछि रेबिजविरुद्ध खोप लगाउन अन्यत्र जानू पर्ने बाध्यता बढेको छ।
बैतडी जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार विगत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको हो। खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइएको उनले बताए।
`रेबिजको खोप अभाव भएको बारेमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराएका छौं, तर अहिलेसम्म उपलब्ध भैसकेको छैन।´ पन्तले भने।
जिल्लामा रेबिज बिरुद्धको खोप उपलब्ध नहुँदा जिल्ला बाहिर खोप लगाउन जानेहरूको संख्या बढेको छ। जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिएको थियो।
सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिएको पन्त बताउँछन। पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएको उनको भनाइ छ।
कुनै जनावरले टोकेमा एक जनाले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ। तर खोपको अभावमा खोप लगाउन आएकाहरु फर्किने गरेका छन। कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ।
रेबिज भाइरसबाट लाग्ने रोग हो। यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो सङक्रमित जनावरबाट मानिसमा पनि सर्छ। यो भाइरस सङ्क्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ र भाइरस मानिसमा सर्छ। सङ्क्रमित र्यालले कसैको आँखा, मुख वा खुला घाउबाट सङ्क्रमण हुनसक्ने सम्भावना पनि रहेको हुन्छ।
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ। त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ। रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्छ। यसबाट अरु मानिसमा पनि सर्न सक्छ। रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ। रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ। रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुनसक्छ।



