काठमाडौं। नेपालमा नै गुणस्तरीय ल्याब टेस्ट गराउने उद्देश्यसहित काठमाडौंको पानीपोखरीमा संचालनमा रहेको शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि तेस्रो वर्ष प्रवेश गरेको छ।
विभिन्न अस्पतालमा कार्यरत १३० जना चिकित्सकहरुको समूहले संचालन गर्दै आएको शुक्राले शनिबार आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको हो। सो सुविधा सम्पन्न ल्याबको सुरुवात २०८० जेठ ३ गते भएको थियो। स्थापनाको समय ल्याब टेस्टलाई मात्र समेटेको शुक्राले सेवालाई समेत विस्तार गरेर हालसम्म डाईग्नोस्टिक तथा क्युरेटिभ समेत गरी ५० हजार बढी ब्यक्तिलाई सेवा दिइसकेको छ।

शुक्राकी बोर्ड अध्यक्ष प्राडा ममता लाखेले देशको पैसा देशमै रहने गरेर विशिष्ट सेवा उपलब्ध गराउने गरि नेपालमा शुक्राको सुरुवात गरिएको जानकारी दिइन।
`नेपालको पैसा नेपालमा नै रहोस, जटील उपचारको ल्याब टेस्टमा लामोसमयको पर्खाइ अन्त्य होस भनेर हामीले शुक्राको सुरुवात गरेका हौं।´ लाखेले भनिन।
उनले नेपालका अधिकांश स्थानबाट भारत पठाउने गरिएका धेरै परीक्षणहरु शुक्रामा नै हुने जानकारीसमेत दिइन।
`नेपालमा धेरै प्याथोलोष्टि भएर पनि टेष्टका लागि भारत पठाउनु पर्दथ्यो, क्यान्सरको रिपोर्ट पनि हामीले तत्कालै दिन नसक्ने, इम्युनोहिस्ट्रो क्यामेष्ट्री गरेर कुन प्रकारको क्यान्सर भनेर थाहा पाउनका लागि भारत नै पठाउनु पर्दथ्यो, अव यस्ता खालका महत्वपूर्ण टेष्टहरुका लागि भारत जानु पर्दैन, शुक्रामा नै हामीले ती परीक्षण गर्ने गरेका छौं।´ उनले भनिन।
उनले भारतमा पठाउँदा १० देखि १५ दिन लाग्ने रिपोर्ट शुक्रामा ५ दिन भित्रमा नै उपलब्ध गराइने हुँदा रोग पत्ता लाग्ने समय पनि घट्ने र बिरामीलाई समेत सहज हुने बताइन।
`ईम्युनो हिस्ट्रो क्यामेस्ट्री, मोलिक्युलर प्याथोलोजी,जो क्यान्सर बिरामीको लागि लक्षित छ, कुन प्रकारको क्यान्सर हो भन्ने थाहा पाएपछि कुन प्रकारको उपचार विधि प्रभावकारी हुन्छ भनेर निर्णय लिन पनि सजिलो हुने सकिन्छ, यी परीक्षण भारतमा पठाउँदा रिपोर्ट आउन १० देखि १५ दिन लाग्छ, यहाँ ५ दिनमै आउँछ।’
‘परिणामहरू जहाँ महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ स्थापित शुक्रा आईएसओ सर्टिफाइड प्रयोगशाला हो। शुक्राले अहिले क्युरेटिभ अन्तर्गत क्लिनिक सेवा समेत सुरु गरेको छ।
शुक्रामा परीक्षणका अलावा क्लिनिकल सर्भिस दिने बरिष्ठ डाक्टरहरुको पनि उपलव्धता छ। बेलुकाको समयमा ती डाक्टरबाट चिकित्सकीय सेवामा खटिने सेन्टरकी प्रशासन प्रमुख रोजिना प्रधानले जानकारी दिइन।

शुक्रामा हाल प्रयोगशालासंगै ओपिडी क्लिनिक सेवा पनि सुरु गरिएको प्रधानको भनाइ छ। शुक्रामा ल्याब परीक्षण, मल्टीस्पेशालिटी विशेषज्ञ परामर्श, एक्स–रे, यूएसजी, ईसीजी, फार्मेसी जस्ता सेवाहरु उपलब्ध रहेका छन्। यस्तै घर वा अफिसमा बसेका व्यक्तिहरुका लागि उनीहरुको निवासमै पुगेर परीक्षणका लागि निशुल्क रुपमा रगत ल्याउने व्यवस्थासमेत शुक्राले मिलाएको उनले जानकारी दिइन।
शुक्राले दोस्रो बार्षिकोत्सवको अवसर पारेर जेठ महिनाभरि ल्याब रुटिन टेष्ट, अल्ट्रासोनोग्राफी यूएसजी, ईसिजी, इको, एक्सरे सेवामा २५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ। जेठ ४ गतेबाट सप्ताहव्यापी रूपमा जनरल फिजिसियन, मधुमेह, हर्मोन तथा थाइराइड सम्बन्धी विशेषज्ञ परामर्श सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराईने प्रधानले जानकारी दिईन्।



