काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहलका लागि आग्रह गरेकी छ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आइपुगेका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गरेकी हुन।
परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो।
सो क्रममा मन्त्री डा राणाले जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद दिंदै सो विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन।
यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गर्दै आएकी छन।
सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै आइरहेकी छन।
शुक्रबारको सो भेटका क्रममा मन्त्री डा राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरेकी हुन।



