मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमा बोर्डले ४०० अस्पतालहरुलाई पठायो ४ अर्ब ३८ करोड पेश्की, बक्यौता लयमा ल्याउन के हुँदैछ?

स्वास्थ्य बीमा बोर्डले ४०० अस्पतालहरुलाई पठायो ४ अर्ब ३८ करोड पेश्की, बक्यौता लयमा ल्याउन के हुँदैछ?

images
२०८२ जेठ ३ गते, शनिवार
२०८२ जेठ ३ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले साना, मझौला तथा ठुला विभिन्न ४०० स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमाको सोधभर्ना वापतको मागदाबी अनुसारको रकमको पेश्की पठाएको छ।

    images

    बीमा बोर्डले ४०० स्वास्थ्य संस्थाका लागि ४ अर्ब ३८ करोड रकम पेश्की बापत पठाएको हो। यसरी पेश्की रकम पठाउँदा चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रकम हिसाब गरेर पठाइएको छ। 

    images

    तीन तह छुट्याएर बाँडफाँड 

    बोर्डले रकम पठाउँदा मागदाबी अनुसार कुल दाबीको २५ देखि ८० प्रतिशत सम्म रकम पठाएको बोर्डका सुचना अधिकारी विकेश मल्ल ठकुरीले जानकारी दिए।

    उनका अनुसार १२ लाख २० हजारसम्म मागदाबी गर्ने ७८ वटा साना अस्पताल तथा स्वास्थ्य संस्था छन। ती अस्पताल तथा स्वास्थ्य संस्थाबाट ३ करोड ३१ लाख कुल मागदाबीको ८० प्रतिशत अर्थात २ करोड २७ लाख पेश्की पठाइएको हो।

    यसैगरी ६४ वटा बिभिन्न मझौला स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट १२ लाख देखि ५१ लाख सम्म मागदाबी हुँदा कुल १९ करोड मागदाबी भएकोमा ४० प्रतिशत अर्थात ७ करोड ९४ लाख पेश्की निकासा गरिएको हो। सो समुहमा रकम पाउनेमा जिल्ला अस्पतालहरु धेरै छन।

    यस्तै ठुला ५१ लाख माथी मागदाबी गर्ने २५८ अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाहरूबाट कुल १७ अर्ब मागदाबी हुँदा २५ प्रतिशत अर्थात ४ अर्ब २८ करोड भुक्तानी भएको छ। यो समुहमा ठुला अस्पताल, मेडिकल कलेज, प्रदेश अस्पताल र केही जिल्ला अस्पताल परेका छन। 

    `यी रकम पेश्की मोडालिटीमा पठाएका छौ, २०८१ साउन देखि २०८१ चैतसम्मको मागदाबी अनुसारको पेश्की भुक्तान गरिएको हो।´ सुचना अधिकारी ठकुरीले भने।

    कसरी जुट्यो पैसा?

    सरकारले स्वास्थ्य बीमा बोर्डका लागि चालु आर्थिक वर्षको बजेटमा ७ अर्व ५० करोड रकम विनियोजन गरेको थियो। तर सोधभर्नाका लागि बक्यौता रकम १८ अर्ब भन्दा बढी पुगेपछि बोर्डले रकम वितरण गर्न सकेको थिएन।

    यही अवस्थामा बोर्डमाथि पटकपटक प्रश्न उठ्दै आएको थियो भने अस्पतालहरुले पनि बीमा वापतको सोधभर्नाको बक्यौता नपाए बीमा नै रोक्नेसमेत चेतावनी दिंदै आएका थिए।

    तर गत फागुनमा अर्थ मन्त्रालयले बोर्डका लागि थप ३ अर्ब रुपैयाँ निकासा गरिदिएपछि बोर्डले बक्यौता रकमलाई पेश्किका रुपमा दिने तयारी गरेको थियो। यसरी रकम पेश्की वापत रकम दिंदा बोर्डले आफुसँग रहेको १ अर्व ३८ करोड रुपैयाँसमेत जोडेर कुल ४ अर्ब ३८ करोड रकम वितरण गरेको हो।

    कार्यकारी निर्देशक भन्छन : सुधारका योजना बनाउँदै छौं

    बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्ले बोर्डको जिम्मेवारीमा रहेको बीमा वापतको सोधभर्नाको बक्यौता रकम घटाउन विभिन्न सुधारका योजना बनाइरहेको बताउँछन।

    काफ्लेका अनुसार बैकल्पिक योजना बनाएर बीमा बोर्डको जिम्मेवारीमा रहेका विषयलाई लयमा ल्याउने काम भैरहेको छ।

    `लामो समय थुप्रिदै गएको बक्यौँता रकम घटाउन काम भैरहेको छ, विभिन्न बैकल्पिक योजना पनि बनेका छन, स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीज्युहरुसँग पनि यस विषयमा छलफल र योजनाका कुराकानी भएका छन।´ कार्यकारी निर्देशक काफ्लेले भने।

    उनले स्वास्थ्य उपचारसँग जोडिएका सरकारका धेरैवटा कार्यक्रम विभिन्न फरकफरक बाटोबाट खर्च भैरहेकाले त्यसलाई एकतृत गर्ने विषयमा समेत काम अघि बढिरहेको बताए। त्यस बारे अर्थमन्त्रीसँग समेत छलफल भएको उनको भनाइ छ।

    यस्तै विपन्न नागरिकलाई कडा रोगको उपचारमा दिईने सहुलियत रकम देखि अन्य कार्यक्रममा रहेका रकमहरुलाई समेत बीमाबाट अघि बढाउने तयारी भएको काफ्लेले जानकारी दिए।

    बीमा बोर्डले गत वर्षको साउनदेखि गत चैतसम्मको नौ महिनाको सोधभर्ना वापतको रकमको पेश्की स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पठाए पनि त्यसअघिको रकम समेत भुक्तान गर्न बाँकी छ। सो रकम कसरी भुक्तान गर्ने भन्ने बारेसमेत बीमा बोर्ड अलमलमा छ। सरकारले आगामी बजेटमार्फत रकम सुनिश्चित गरेको अवस्था बाहेकमा बोर्डसँग गत वर्षको साउन अघिको रकम भुक्तान गर्न स्रोत छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend