काठमाडौं। महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको बेरुजु १ अर्ब ७० करोड ९५ लाख भन्दा बढी रहेको देखाएको छ।
महालेखा परीक्षकको कार्यालयका प्रमुख तोयराम रायले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु १ अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको उल्लेख छ।
प्रतिवेदनमा सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
यस्तै सरकारी कार्यालय तर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट भएको र त्यसपछि २३ करोड ६० लाख बेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी संगठित, अन्य संस्था र समिति तर्फ पनि प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड भन्दा बढी रकम फर्स्यौट भएको प्रतिवेदनम देखैएको छ।
संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकोले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। सो मध्ये २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको बेरुजु रकमको विवरणमा उल्लेख छ।



