हेटौंडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मोबाइल फोनको सेकेन्ड ह्यान्ड कारोबारलाई ब्यवस्थित बनाउनु पर्ने बताएका छन।
बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभालाई सम्बोधन गर्दै काफ्लेले आफुले प्रयोग गरिसकेको फोनलाई विक्री गर्न चाहने ब्यक्तिले विक्री गर्न चाहेको अवस्थामा पाउनु पर्ने बताएका हुन।
`कतिपय देशहरूमा सेकेन्ड ह्यान्ड फोनको कारोबारलाई सरकारले राज्य कोषमा निश्चित रकम जम्मा हुने गरेर कारोबार गर्न मिल्ने बनाएको छ, नेपालमा अहिले यसका लागि कुनै कानुन छैन, अवैध रुपमा सेकेन्ड ह्यान्ड फोनको कारोबार भैरहेको छ, यसलाई कानुनी दायरामा ल्याएर राज्यकोषमा निश्चित रकम आउने गरेर ब्यवस्थित गर्दा राज्यको हितमा हुन्छ।´ काफ्लेले थपे।

मोबाइल ब्यवसायीहरुले समेत पुराना सवारी साधन जस्तै मोबाइल फोन पनि किनबेच गर्न मिल्ने गरेर नीति बनाइदिन सरकारसँग माग गर्दै आइरहेका छन।
मन्त्री काफ्लेले पनि नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल ब्यवसायलाई नीतिगत रुपमा नै ब्यवस्थित गर्नु पर्ने बताएका हुन। देशको राजश्वमा महत्त्वपूर्ण योगदान दिएको मोबाइल ब्यवसायलाई कानुनी झन्झट्पुर्ण अवस्थाबाट मुक्त गरिनु पर्ने बताएका हुन।
`देशको अर्थतन्त्र उन्ननयनका लागि ब्यवसायीसँग सहकार्य गर्नुको विकल्प छैन, तर कतिपय ब्यवस्थाले मोबाइल ब्यवसायीलाई असहज भएको सुनिएको छ, कानुनी जटिलतालाई फुकाउन संघीय सरकारसमक्ष बागमती प्रदेश सरकारका तर्फबाट मेरो पहल रहन्छ।´ मन्त्री काफ्लेले भने।
उनले भन्सार छली मार्फत भित्रीएका मोबाइललाई सरकारले कडाइ गर्दा राज्यको कोष बढ्ने भन्दै त्यसतर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिए।
यसैगरी ब्यवसायीलाई दक्ष बनाउन बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन आफू तयार रहेको बताउँदै काफ्लेले देशमा नै रोजगारी सृजना गर्ने अवस्थाको नेतृत्व गर्न महासंघलाई आग्रहसमेत गरे।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुचना प्रविधिको क्षेत्रमा मोबाइल ब्यवसायले महत्त्वपूर्ण योगदान दिएको बताइन।
कार्यक्रममा मोबाइल फोन इम्पोर्टर एसोसिएसन अफ नेपाल संघका अध्यक्ष दिपक मलहोत्राले मोबाइल ब्यवसायलाई ब्यवस्थित गर्न सरकारले एमडीएमएस प्राणाली लागू गर्नै पर्ने बताए। सो ब्यवस्था लागू गर्न नसके सरकारले अन्य बिकल्प पनि निकाल्नु पर्ने स्पष्ट पारे।

उनले मुलुकको राजश्वमा नौ अर्ब अतिरिक्त राजश्व बुझाइ रहेको मोबाइल ब्यवसायलाई सरकारले लामो समय देखि बेवास्ता गर्दै आएकोमा दुखेसो ब्यक्त गरे।
कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल ब्यवसायलाई कानुनी रुपमा ब्यवस्थित नगर्दा सम्म ब्यवसायीले राज्य पक्षबाट हैरानी खेप्नु पर्ने अवस्थाको अन्त्य नहुने बताए। उनले सरकारका विभिन्न तहमा मोबाइल ब्यवसायका समस्याको जानकारी गराउँदासमेत बेवास्ता भैरहेको बताए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकि प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेश उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष कबिराज खत्री, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल हिमालय सिमापार बाणिज्य संघका केन्द्रीय सदस्य बिष्णु न्यौपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।




