मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, भैरहवामा ‘डग स्निफिङ’

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, भैरहवामा ‘डग स्निफिङ’

images
२०८२ बैशाख २५ गते, बिहिवार
२०८२ बैशाख २५ गते, बिहिवार
  • काठमाडौं। भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ।नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन्।

    images

    विशेषगरी बिरगंज, भैरहवा, विराटनगर, काँकडभिट्टा लगायतका नाकाहरुमा विशेष सुरक्षा अपनाइएको छ। ती नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ। 

    images

    बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ।

    यस्तै अन्य नाकाहरु जटही र भिट्ठामोड नाका, ठोरी नाका लगायतमासमेत सुरक्षा सतर्कता उच्च बनाइएको छ भने दुई देशका सुरक्षाकर्मीहरुको तैनाथी पनि बढेको छ।

    केही नाकाहरुमा पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेका छन।

    बिरगंज नाकामा खटिएका एक सुरक्षाकर्मीका अनुसार संकास्पद ब्यक्तिलाई कडाइका साथ निगरानी गरिएको छ। `यहाँ संकास्पद भुमिका देखाउने ब्यक्तिलाई हामीले कडा निगरानी गरिरहेका छौं, पहिलेभन्दा सुरक्षा सतर्कतामा ध्यान दिएका छौं।´ ती सुरक्षाकर्मी भन्छन।

    धनुषाको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको जानकारी दिए।

    धनुषाको जटही सीमा क्षेत्रमा खटिएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, `हामीले सुरक्षा सतर्कता बढाएका छौं। भारत–पाकिस्तानबिचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौं।´

    विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ। स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन्। सिमाना आसपासका बजार पनि प्रभावित भएको छ।

    सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए।

    तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

    त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबिच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ। जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ। बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ।

    सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो।

    ‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन्। तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ।

    पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ।

    सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।

    यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए।

    सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उनले बताए।

    सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend