काठमाडौं। स्वास्थ्य बीमा बोर्डले अबदेखि ब्यक्ति आफैले बीमाको नवीकरण गर्न मिल्ने ब्यवस्था मिलाएको छ। अब घरमुलीको बीमा नम्बर राखेर बिमा कार्यक्रममा आबद्ध बीमित परिवारले मोबाइल फोनबाट नै बीमाको नवीकरण गराउन सक्ने छन।
बीमा बोर्डले मंगलबार एक सूचना जारी गर्दै अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो।
बोर्डका सूचना प्रविधि शाखा प्रमुख ई. सुरेस सिंह तिंकरीले जारी गरेको सूचनामा बीमीत परिवारले खल्ती, इसेवा, कनेक्टआईपीएस जस्ता डिजिटल भुक्तानी माध्यमबाट बीमा सेवाको नवीकरण गर्न सकिने जानकारी दिइएको हो।
यो प्रक्रियामा जानका लागि बीमित परिवारले नागरिक एपमा लिंक गरी आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। बोर्डले सम्भव भएसम्म बीमित परिवारलाई अनलाइनमार्फत आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ।




