काठमाडौं। बिरगंजमा रहेको नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरलगायत नौ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
नारायणी अस्पताल, बिरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा इन्टर लक ब्लक बिछ्याउने कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दर्ता गरेको हो। अख्तियारले आरोपपत्रमा करिब २ करोड बिगो मागदाबी गरेको छ।
“नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर व्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम ३५ इन्टर व्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७\०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टर लकिङ टाइललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको, शिवाको/विकास एण्ड ब्रदर्स/वि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ग्रे कलरको इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेकोे र सोही अति सामान्य कुरालाई मुल्यांकनमा ‘Grade is not mentioned and also it is notMulti-blinded Color block’ भन्ने व्यहोरा उल्लेख गरी लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको, स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैंया नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न उपरसजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।” अख्तियारद्वारा आइतबार जारी सुचनामा भनिएको छ।



