काठमाडौं। नेपाल पत्रकार महासंघले पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएको बताएको छ।
शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले उक्त तथ्य सार्वजनिक गरेको हो। सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना हुँदा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्थामाथि आक्रमण भएको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाइले जनाएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सो अवधिमा दुई जना पत्रकारको हत्या भएको जानकारी दिए। यस्तै सोही अवधीमा पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएको महासंघले जनाएको छ। यस अवधिमा पत्रकारमाथि धम्की, धरपकड तथा दुर्ब्यवहारका अत्यन्त निन्दनीय घटना भएको महासंघ बताउँछ।
सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो। योसँगै युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो।
महासंघले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ।



