काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेजसम्म हुन सक्ने चेतावनी दिएका छन।
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकका मागका सम्बन्धमा आयोगले १६ औं बैठकबाट निर्णय गरेको र सो निर्णयलाई १९ औं बैठकलेसमेत कार्यान्वयन गराउने निर्णय गरिसकेकाले अटेर नगर्न आग्रह गरे। शुक्रबार मन्त्रालयमा आयोजित चिकित्सक संघका प्रतिनिधिहरुसँग छलफल गर्दै पौडेलले यस्तो चेतावनी दिएका हुन।
उनले आवासीय चिकित्सकहरुलाई रोक्ने, प्रवेश गर्न नदिने, काममा अवरोध गर्ने तथा निर्णयमा अटेर गर्नेहरुको सम्बन्धन खारेजदेखि सरकारले दिने अन्य कुनैपनि सुविधासम्म रोकिने बताए।
`चिकित्सा शिक्षा आयोगले १६ औं बैठकबाट नै निर्णय गरिसकेको छ, निर्णय नमान्ने भन्ने हुँदैन, सरकारको निर्णय नमाने सम्बन्धन खारेजदेखि स्वास्थ्य बीमा रोक्नेसम्मको निर्णयमा पुग्छौं।´ मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुरामा पनि थप व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको बताए।
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू लामो समयदेखि आन्दोलनमा रहँदै आएका छन। उनीहरुले सरकारी सरह अर्थात आठौं तह बराबर निर्वाह भत्ता पाउनु पर्ने माग गर्दै आइरहेका छन।
आयोगले सो मागका सम्बन्धमा निर्णय गरिसक्दा पनि निजी मेडिकल कलेजहरुले भने उनीहरुलाई रोक्ने, धम्की दिने तथा अवरोध गर्ने काम गर्दै आइरहेको उनीहरुले मन्त्री पौडेल समक्ष गुनासो पोखेका छन।
मन्त्रालयमा भएको छलफलमा सचिव डा विकास देवकोटासहित चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीसहितका चिकित्सकहरू सहभागी थिए।




