काठमाडौं। सरकार र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच नौ बुँदे सहमति भएको छ। पटकपटकको वार्तापछि बुधबार वार्ता निष्कर्षमा पुगेको हो।
दुई पक्षबिचमा भएको सहमति अनुसार अब सरकारले आषाढ १५ गते भित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा सम्बन्धि विधेयक पारित गर्ने छ। सहमति भएका विषयहरू बुधबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो।
शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद बैठकले सहमतिका बुँदालाई पारित गरेको जानकारी दिए।
सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएपछि आन्दोलनरत पक्षले घोषित सबै आन्दोलनका कार्यक्रम फिर्ता गरेका छन।
यी हुन सहमतिका नौ बुँदा
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी रकरार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता) को बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।
४. आगामी आव २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा .राहत, अस्थायी/करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने।



