काठमाडौं। नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई सरकारले खोप प्रदान गर्ने भएको छ।
१५ महिनासम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई सरकारले बैशाख ३१ गते खोप प्रदान गर्ने भएको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख अभियान गौतमले देशभरका सबै स्वास्थ्य संस्थाबाट छुट भएका बालबालिकाहरुलाई खोप प्रदान गरिने जानकारी दिए।
`नियमित खोपबाट कोही पनि बन्चित नहुन भनेर खोप लगाउन लागिएको हो, १५ महिनासम्मको नियमित खोप लगाउन छुटेका देशभरका ५ वर्ष मुनिका बालबालिकालाई खोप दिइँदै छ।´ गौतमले भने।
नियमित खोप लगाइने गरेकै कारण नेपालमा पछिल्लो २७ वर्षमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ७८ प्रतिशतले घटेको छ। सन् १९९६ मा प्रति एक हजार जिवित जन्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ थियो भने सन् २०२३ मा आईपुग्दा मृत्युहुने दर घटेर २६.५ प्रतिहजारमा झरेको छ।
यस्तै शिशु मृत्युदर ७१ प्रतिशतले घटेको छ । शिशु मृत्यु दर ७८ प्रति हजार जीवित जन्मबाट घटेर २३ प्रति हजार जीवित जन्ममा झरेको तथ्यांक छ।
यसैगरी नवजात शिशु मृत्यु दर ५० प्रति हजार जीवित जन्मबाट १६.६ प्रति हजार जीवित जन्ममा (६७ प्रतिशत)ले घटेको छ।



