काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) को आयोजनामा राजधानीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने मुल ध्येयका साथ आयोजित रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन।
संघका अध्यक्ष गणेश नेपालले पछिल्लो समय बढ्दो रगत अभावको समस्यालाइ दृष्टिगत गर्दै संघले स्वास्थ्य सेवा प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए।
संघको बागमती प्रदेश समितिको सहकार्यमा काठमाडौं महानगरपालिका १७ स्थित कन्या मन्दिर माविमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र स्टार हस्पिटलको प्राबिधिक सहयोग रहेको थियो।
रक्तदान कार्यक्रममा ४९ पिण्ट रगत संकलन गरिएको बागमती प्रादेशिक समितिका महासचिव सन्तोष खतिवडाले जानकारी दिए।
कार्यक्रममा औषधिका थोक व्यवसायी, व्यवसायसँग सम्बन्धित कर्मचारी, कम्पनीका प्रतिनिधि र स्वयंसेवक तथा स्थानीय सर्वसाधारण नागरिकले रक्तदान गरेका थिए। ।
कार्यक्रममा रक्त अभियन्ता अमृतनारायण माननधर, लक्ष्मण जोशी, १४८ औंपटक रक्तदान गरिसकेका स्वयमसेवी रक्तदाता विरेन्द्र कुमार जोशी, रक्तअभियानकर्मी निरु महर्जन लगायत संघका केन्द्र र प्रादेशिक समितिका पदाधिकारीको उपस्थिती रहेको थियो।
कार्यक्रममा संघका अध्यक्ष नेपालसहित डा मनिता राजकर्णिकार र प्राडा अमिता प्रधानले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए।




