काठमाडौं। देशको राजधानी काठमाडौंमा नै मापदण्ड विपरीत अस्पताल संचालन भैरहेको पाइएको छ।
काठमाडौंको पेप्सीकोलामा संचालनमा रहँदै आएको मदरल्याण्ड अस्पताल मापदण्ड विपरीत संचालन भैरहेको पाइएको हो। सो गुनासोपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा टोली आइतबार अनुगमनका लागि अस्पताल पुगेको थियो।
सो क्रममा अस्पताल संचालनका लागि स्थानीय तहबाट १५ बेड संचालनको स्वीकृति पाएकोमा ५५ बेड संचालन गरिरहेको भेटिएको हो। बेड संख्या बढाउँदा आवश्यक जनशक्ति र प्राविधिक पक्षमा भने अस्पतालले लापरबाही गरेको पाइएको छ।
यस्तै अनुगमन टोलीले अस्पतालको सेवा सम्बन्धी विवरण अनलाइन प्रणालीमा अद्यावधिक नभएको तथा सेवाग्राहीले रकम भुक्तान गर्दा अस्पतालको खातामा नभइ ब्यक्तिको खातामा जाने ब्यवस्था गरिएको भेटेको छ। यी लापरबाही भेटिएपछि अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले अस्पतालको सेवा पारदर्शी बनाउन अनलाइन प्रविधिको अधिकतम उपयोग गर्न आग्रह गरे।
उनले भने कुनै पनि स्वास्थ्य संस्थाले अनलाइन प्रणालीमा आफ्नो सम्पूर्ण विवरण अद्यावधिक नगरी सञ्चालन गरेको भेटिए कारबाही गरिने चेतावनीसमेत दिए।
सो क्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पूर्वाधार बिनानै अस्पताल संचालन गर्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको बताए। उनले स्वीकृति बिना संचालित सेवा तत्काल बन्द गर्न र आवश्यक मापदण्ड पुरा गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिए।
मन्त्री थापाले अनलाइन प्रणाली सुरु भइसकेपछि पनि प्रणालीमा नआएका र विभिन्न कारण देखाई प्रक्रियामा रहेको वाहाना गर्ने स्वास्थ्य संस्थाहरु मन्त्रीस्तरिय निर्णयबाट खारेज गरिएकोसमेत जानकारी दिए।
बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रमा हुने अनियमितता अन्त्य गरी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन अनलाइन प्रणाली लागू गरिएको बताइन्।
अनुगमननका क्रममा कमजोरी भेटिएपछि मदरल्याण्ड अस्पतालका सञ्चालक प्रा.डा. करवीर नाथ योगीले त्रुटिहरू स्वीकार्दै जतिसक्दो छिटो आवश्यक सुधार कार्य अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे।
बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा सञ्चालित सबै स्वास्थ्य सेवाहरुको अनुगमनलाई तीव्रता दिएको छ। प्रदेश सरकारले स्वास्थ्य सेवालाई पारदर्शी, मापदण्डयुक्त र जनमुखी बनाउन अनलाइन सेवा प्रणाली लागू गरिसकेको छ।
अनलाइन प्रणाली सुरु भएपछि प्रदेश सरकारले स्वीकृति बिना सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमाथि कडा निगरानी र आवश्यक कारबाहीको प्रक्रियालाई अघि बढाएको हो।
मदरल्याण्ड अस्पतालको अनुगमन टोलीमा काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका खगेश्वर गेलाल, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि लगायत सहभागिता थिए।



