काठमाडौं। नेपाली सांगीतिक सम्पदाको प्रवर्द्धनका लागि काठमाडौंमा `युथ आर्केस्ट्रा स्प्रिंग कन्सर्ट´ आयोजना गरिएको छ।
काठमाडौं युथ आर्केस्ट्राले नेपाली सांगीतिक सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा ४० भन्दा बढी कलाकारले अनवरत रुपमा आफ्नो सांगीतिक कला प्रस्तुत गरे।
जहाँ पश्चिम कोही पुर्व घर, शुभकामनाभरी, उकाली ओरालीहरुमा लगायतका नेपाली कालजयी गीत प्रस्तुत गरिएको थियो भने पश्चिमी शास्त्रीय संगीतका विभिन्न गित तथा धुनहरुहरुसमेत सुनाइएको थियो।

कार्यक्रममा एक दर्जन गीत तथा विभिन्न देशका संगीतहरु प्रस्तुत भैरहँदा त्यसको नेतृत्व तथा निर्देशन भने सिंगापुरका म्युजिक एडुकेटर तथा कम्पोजर डा जोन शार्पली गरेका थिए। उनको उत्कृष्ट कला नेतृत्वले मञ्चलाई बेजोड बनाउँदै कलाकार र दर्शकलाई हौसाएको थियो।
यसैगरी एरिक् स्याटेलिकको रचनामा रहेको गितको धुन, रुसी संगितकार डिमित्री आर्केस्ट्राको धुन, पल माकाटीको कालाजयी गितको धुनसमेत प्रस्तुत गरिएको थियो भने कलाकार अमेडिया र ब्रबिनले हेलिङ म्युजिकमा आफ्नो प्रस्तुति देखाएका थिए। कार्यक्रमको अन्त्यमा नेपाली हिमाली कलासंस्कृती र रहनसहन झल्काउने याक नृत्य प्रदर्शन गरिएको थियो।

राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा जसमा खिँ, तवला, धिमे, ढोलक, भुसीया, टिन्चु, पियानो, गिटार, भायोलेन, सारंगी, सितार लगायतका नेपाली र पश्चिमी वाद्ययन्त्रहरू प्रयोग गरिएको थियो।
कार्यक्रममा लोक तथा परम्परागत गीतहरूको स्टाफ नोटेशन समावेश नेपाली अर्केस्ट्रा नेपालका धुनहरू नामक पुस्तकको विमोचनसमेत गरिएको थियो।
कर्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका १८ का वडाध्यक्ष न्हुच्छे महर्जनले गितसंगितको कुनै सिमा नहुने बताए। उनले देश विदेशमा एउटै तालमा एउटै लयमा संगितको धुन गुन्जिने गरेको भन्दै नेपालको संगित विदेशमा पनि गुन्जाउने उद्देश्यले कार्यक्रम आयोजना हुनु देशकै लागि महत्त्वपूर्ण रहेको बताए।
यस्तै पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने सिंगापुरका चर्चित म्युजिक एडुकेटर तथा कम्पोजर डा शार्पलीले नेपाली संगीतको खुलेर प्रशंसा गर्दै नेपालको मौलिक एवम परम्परागत संगीतलाई विश्वभर जहाँसुकै पुगेपनि विर्सन नसकिने बताए।
उनले नेपाली संगीतलाई विश्वव्यापी प्रवर्द्धन गर्नका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे। डा शार्पलीले नेपाली संगीतमा भावनात्मकता रहेको भन्दै नेपालको सारंगीको धुन एकदमै मनपर्ने बताए।

यसैगरी काठमाडौं यूथ आर्केस्ट्राका सचिव न्हुच्छे मुनिकारले नेपाली संगीतलाई विश्वमा प्रचार गर्ने प्रयास स्वरुप यूथ आर्केस्ट्रा क्रियाशील रहेको र त्यसमा डा जोन चार्ली जस्ता महान संगीतकारले समेत सहयोग गरिरहेको बताए।
कार्यक्रमा कामनपा वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत र २३ का वडाध्यक्ष मचाराजा महर्जन तथा चरिया नृत्यका गुरु चन्द्रमान मुनिकार लगायतको उपस्थिति थियो। काठमाडौं यूथ अर्केस्ट्राले गत वर्ष पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको थियो।




