काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकहरूबिचको वार्ता निष्कर्ष विहीन भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार (आज) बिहान भएको वार्ता ऐना निष्कर्ष सकिएको हो। वार्तामा शिक्षा मन्त्री रघुजी पन्त तथा आन्दोलनरत शिक्षकका तर्फबाट प्रतिनिधिहरु सहभागी थिए।
वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषदका राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले सरकारसँग औपचारिक वार्ता सुरु भएको छ तर निष्कर्षमा नपुगिएको जानकारी दिए।
`सरकारसँग औपचारिक वार्ता सुरु भएको छ, निष्कर्षमा पुगेका छैनौं, हाम्रा मागका बारे जानकारी गरायौं, केही समय लाग्न सक्छ, निकास दिने मुल निकाय भनेको शिक्षा मन्त्रालय हो।´ नेपाल विद्यालय कर्मचारी परिषदका राष्ट्रिय अध्यक्ष तिवारीले छालफलपछि मन्त्रालयबाट बाहिरिंदै संचारकर्मीहरुसँग भने।
उनले आन्दोलनरत शिक्षकहरूले उठाएका मागका सम्बन्धमा पटकपटक सम्झौता गरिएकाले पु: उधारो सम्झौता नहुने बताए।
`मागका विषयमा कुनै सम्झौता हुँदैन, सम्झौता २०७५ सालमा पनि भयो, २०७८ र २०८० मा पनि गर्यौं, अब सम्झौता हुँदैन, विद्यालय शिक्षा विधेयक कै लागि आन्दोलन भएको हो, संसदमा विधेयक प्रवेश गर्यो भन्ने बित्तिकै हामी बाहिरिन्छौं।´
शनिबार शिक्षक आन्दोलन २५ औं दिनमा आइपुगेको छ।सरकारले शुक्रबार राष्ट्रिय शिक्षक महासंघलाई पत्र काटेर वार्तामा बोलाएपछि आज औपचारिक वार्ता भएको हो।
सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले शुक्रबार नै महासंघलाई फरकफरक पत्र काटेरै वार्तामा डाकेका थिए।
सरकारको पत्रपछि शिक्षक महासंघको टोली शुक्रबार नै वार्ताका लागि सिंहदरबारसमेत पुगेको थियो। तर सरकारले नै वार्ताका लागि २५ जनाको नाम तोकेर गेटपास पठाएपछि वार्ता भाँडिएको थियो।
त्यसअघिसमेत शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि बोलाएको थियो। वार्ताका क्रममा केही सहमतिको ड्राफ्ट पनि बनेको बताइएको थियो।
तर सहमतिका बुँदामा प्रधानमन्त्री र अर्थमन्त्रीको सकारात्मक सहयोग नपाएपछि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजिनामा नै दिएकी थिइन। त्यसपछि वार्ता रोकिंदै आइरहेको अवस्थामा बिहीबार सर्वोच्च अदालतले शिक्षकले उठाएका जायज माग तीन दिनभित्र सम्बोधन गर्न सरकारलाई आदेश दिएको थियो।
सर्वोच्चको सो आदेश पछि मन्त्रालयले शिक्षकहरूलाई पुन: वार्तामा बोलाएको हो। सर्वोच्चको आदेश र मन्त्रालयको वार्ताको पत्रपछि आन्दोलन टुंगाएर विद्यालय सहज रुपमा संचालन हुने अपेक्षा गरिएको छ।



