काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच अहिले केहीबेरमा वार्ता हुँदैछ।
सरकारको तर्फबाट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई पत्र काटेरै वार्तामा डाकेपछि अहिले केहीबेरमा मन्त्रालयमा वार्ता हुने भएको हो।
वार्ताका लागि मन्त्रालयले महासंघका प्रतिनिधिलाई तीन बजेको समय दिएको थियो। शिक्षक महासंघकी अध्यक्ष नानुमाया पराजुलीले मन्त्रीले बोलाएपछि छलफलमा जान लागेको बताइन।
`मन्त्री ज्युले बोलाएपछि हामी छलफलमा जाँदैछौं, तीन बजे बोलाइएको छ।´ अध्यक्ष पराजुलीले भनिन।
यसअघिसमेत शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि बोलाएको थियो। वार्ताका क्रममा केही सहमतिको ड्राफ्ट पनि बनेको बताइएको थियो।
तर सहमतिका बुँदामा प्रधानमन्त्री र अर्थमन्त्रीको सकारात्मक सहयोग नपाएपछि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजिनामा नै दिएकी थिइन। त्यसपछि वार्ता रोकिंदै आइरहेको अवस्थामा बिहीबार सर्वोच्च अदालतले शिक्षकले उठाएका जायज माग तीन दिनभित्र सम्बोधन गर्न सरकारलाई आदेश दिएको थियो।
सर्वोच्चको सो आदेश पछि मन्त्रालयले शिक्षकहरूलाई पुन: वार्तामा बोलाएको हो। सर्वोच्चको आदेश र मन्त्रालयको वार्ताको पत्रपछि आन्दोलन टुंगाएर विद्यालय सहज रुपमा संचालन हुने अपेक्षा गरिएको छ।



