काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताएकी छन।
थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्रै रहेको बताएकी हुन।
“अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ।” परराष्ट्रमन्त्री डा देउवाले भनिन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उनले सभापति राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको बताइन।
आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै डा राणाले हिजो नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन।
मन्त्री डा राणा एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किएकी हुन। यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गरेकी थिइन।
सो अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धाराणा राखेकी थिइन।
सो अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्न सघाउ पुगेको महससु भएको उनले बताइन।
मन्त्री डा राणाले यस कार्यक्रमको साइडलाइनमा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिइन।
उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको जानकारीसमेत दिइन।
साथै यस भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री डा राणाको भनाइ थियो।



