काठमाडौं। सरकारले श्रम भिषामा विदेश जाने नेपालीलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम अनिवार्य गर्ने तयारी गरेको छ।
श्रम भिषामा विदेश जाने नेपालीलाई आफ्नो अंग कसरी स्वस्थ र सुरक्षित राख्ने भन्ने जानकारीसहितको सचेतनाका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगुवाइ र श्रम मन्त्रालयको समन्वयमा यस्तो तालिम अनिवार्य गर्न लागेको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममार्फत सो विषय सार्वजनिक गरेका हुन।
`श्रम भिषामा विदेश जाने सबैलाई आफ्नो शरीर र आफ्नो अंग कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा प्रत्यारोपण केन्द्रले जानकारीमुलक तालिम दिनेछ, श्रम भिषामा विदेश जाने सबैले त्यो तालिम अनिवार्य लिनु पर्ने ब्यवस्था हुँदैछ।´ मन्त्री पौडेलले भने।
विदेशमा चर्को घाममा १०/१२ घण्टासम्म काम गर्दा आफ्नो शरीरको ख्यालै नहुने अवस्था देखिने गरेको भन्दै उनले कसैले थाहा नै नपाइ शरीरमा रोगको प्रवेश हुने गरेकाले सो बारे जानकारी प्रत्यारोपण केन्द्रमार्फत दिइने मन्त्री पौडेलले बताएका हुन।
`विदेशमा चर्को घाममा १०/१२ घण्टासम्म काम गर्ने, आफ्नो शरीरको ख्याल नै नगर्ने अवस्था देखिन्छ, मृगौला बिगार्ने, मुटु बिगार्ने इच्छा कसैलाई नहोला, शरीरमा क्यान्सर प्रवेश गराउने इच्छा पनि कसैलाई नहोला, इच्छा नहुँदा नहुँदै पनि आफ्नो शरीर भित्र त्यस्ता रोग कसरी नजानेर वा थाहा नपाएर प्रवेश गरिरहेका छन, त्यसैले कसरी अंग जोगाउने भन्ने उपायहरू प्रत्यारोपण केन्द्रबाट दिने गरेर आवश्यक तयारी गरिएको हो।´ मन्त्री पौडेलले अगाडि थपे।
यसैगरी विदेश गएर फर्किएकाहरुको मृगौला, कलेजो, मुटु लगायत केन्द्रबाट हुने सबै अंगको परीक्षण पनि नि:शुल्क रुपमा गर्न स्वास्थ्य मन्त्रालयले सुरुवात गरिसकेको मन्त्री पौडेलले बताए। सो कार्यकोसमेत मन्त्री पौडेलले बिहीबार प्रत्यारोपण केन्द्रबाट सुरुवात गरेका हुन।
अब शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको अंग परीक्षण निःशुल्क हुनेछ। त्यसका लागि केन्द्रको १३औँ स्थापना दिवसका अवसरमा छुट्टै ओपीडी सेवा सुरु गरिएको हो।



