भक्तपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका लागि भक्तपुरमा जग्गा उपलब्ध नभए प्रत्यारोपण केन्द्र अन्यत्र जान सक्ने बताएका छन।
बिहीबार केन्द्रको १३ औं वार्षिकोत्सव कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै मन्त्री पौडेलले भक्तपुरमा नै मानव अंग प्रत्यारोपण केन्द्र राख्ने गरेर अघि बढ्न र सोही अनुसार जग्गाको ब्यवस्थापनमा जुट्न स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई आग्रह गरे।
`मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नै राख्ने गरेर अगाडी बढ्न म सबैमा अनुरोध गर्न चाहन्छु, जग्गा उपलब्ध नगराए वा समय लगाए प्रत्यारोपण केन्द्र अन्तै जान्छ, हामीकहाँ ल्याइदेउ जग्गा दिन्छौ भनेर मन्त्रालयमा लाइन लागेको छ, जग्गा छिटो उपलब्ध गराइदिन अनुरोध गर्छु, जग्गाकै विषयमा माथापच्ची गर्न आवश्यक छैन।´ मन्त्री पौडेलले भने।
नेपालको प्रत्यारोपणको मुल अस्पताल प्रत्यारोपण केन्द्र रहेको भन्दै मन्त्री पौडेलले देशैभर प्रत्यारोपणको नेतृत्व यही अस्पतालले गर्नु पर्ने बताए।
उनले देशका तीन प्रदेशमा प्रत्यारोपणको काम केन्द्रकै अगुवाइमा सुरु भएको भन्दै बाँकी तीन प्रदेशमा पनि छिटै प्रत्यारोपण अघि बढ्ने बताए। बागमतीमा भने एक महिना भित्र प्रत्यारोपणको काम अघि बढ्ने उनले बताए।
`सुदुरपश्चिम प्रदेशमा गेटा अस्पतालमा, कोशी प्रदेशमा कोशी अस्पताल वा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र
मधेशमा मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानव अंगको प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी मन्त्रालयले गरिरहेको छ।´ मन्त्री पौडेलले थपे।
उनका अनुसार हाल गण्डकीको पोखरा, कर्णालीको सुर्खेत र लुम्बिनीमा सेवा सुचारु भैसकेको छ भने बागमती प्रदेश अन्तर्गतको भरतपुर अस्पतालमा एक महिना भित्र सेवा सुचारु हुने छ।
मन्त्री पौडेलले अंग प्रत्यारोपणका लागि माग भए अनुसारको सेवा दिन भने नसकिएको बताए।
`मानव अंग कसैको लिएर कसैलाई राख्ने विषय हो, प्रत्यारोपणको आफ्नै मापदण्ड छ, जतिलाई चाहिन्छ त्यतिलाई प्रत्यारोपण गर्न सकिने अवस्था छैन, डेथ बढीबाट अंग निकालेर प्रत्यारोपण बढाउन सकिन्छ।´ मन्त्री पौडेलले भने।
उनले मृत्युु पर्यन्तको अंगदान वा ब्रेन डेथबाट मृत्युु भएका ब्यक्तिको अंग अर्को ब्यक्तिलाई दिन सकिने सम्बन्धि सचेतनासमेत आवश्यक भएको बताए।
मन्त्री पौडेलले दुर्घटना वा ब्रेन डेथ भएको शरीरको सम्पुर्ण स्वामित्व परिवारको हुने हुँदा परिवारका ब्यक्तिलाई अंगदानको महत्त्व बुझाउन आवश्यक रहेको प्रष्ट पारे। त्यसका लागि राजनितीक दल, सामाजिक ब्यक्तिले मृत्युु पछि हुने अंगदानको ब्यापकतालाई बढाउनु पर्ने उनको भनाइ छ।
उनले सरकारले मृत्युपछि अंगदान गर्ने ब्यक्तिका परिवारलाई प्रत्यारोपण केन्द्रले १ लाख तथा मन्त्रालयले थप १ लाख दिने गरेको पनि बताए।
`मृत्युुपछि कसैलाई कुनै अंग काम लाग्छ भने अंग दान नगर्नु पर्ने कुनै कारण छैन, जलेर जाने शरीरको अंग दिएर आँखा नदेख्नेले आँखा देख्छ, डायलासिसको स्टेजमा पुगेको ब्यक्तिलाई मृगौला दिंदा अर्को ब्यक्तिको जीवन बाच्छ।´ स्वास्थ्यमन्त्री पौडेलले अंगदानको महत्त्व बारे बताउँदै आफुले पनि अंगदान गरिसकेको जानकारी दिए।
मन्त्री पौडेलले केन्द्रबाट मुटुको प्रत्यारोपण गर्नका लागि पनि मन्त्रालय लागिपरेको बताए।



