काठमाडौं। नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघ बिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धीका कार्यक्रमहरुमा सहकार्य गर्ने समझदारी भएको छ।
मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा प्रहरी अस्पताल र नेत्र ज्योति संघ बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्द प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गर्दै आदानप्रदान गरे।
समझदारी पत्रमा हस्ताक्षर पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई दुई अस्पतालको समझदारीले थप हौसला मिल्ने बताए।
उनले आगामी दिनमासमेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास व्यक्त गरे।
सम्बोधनकै क्रममा नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले प्रहरीसँग सहकार्यको अवसरमा खुसी ब्यक्त गरे।
समझदारी पत्रमा आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति सङ्घले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखासम्बन्धी सबै उपचार शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख छ।
यस समझदारीबाट नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारीहरु र निजका परिवारहरुलाई गुणस्तरिय आँखा उपचार सेवामा सहज हुनेछ।
समझदारी आजैबाट लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ भने समझदारी तीन वर्ष अवधिका लागि लागु हुने छ।






