भक्तपुर। भक्तपुरको सल्लाघारीमा आयोजित नवौं भक्तपुर महोत्सव सकिएको छ। चैत २८ गतेबाट सुरु भएको महोत्सव सोमबार १२ औं दिनमा सम्पन्न भएको हो।
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ को ३ लाख दर्शकले अवलोकन गरेका छन।
‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवलााई औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डलेआयोजना गरेको थियो।
महोत्सवमा रहेका करिब १ सय स्टल र बाल उधान, मनोरञ्जनका स्थलले २ करोड कारोबार गरेको आयोजकले जानकारी दिएका छन।
औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीदेखि खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाका साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु राखिएको थियो।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव समापनको अवसरमा वरिष्ठ गीतकार सुवाश चन्द्र ढुंगेललाई नगद रु.५ हजार सहित सम्मान गरिएको छ।
सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई कदरपत्र सहित सम्मान गरेका छौं, महोत्सवका संयोजक थापाले भने।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।
महोत्सवको प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले उद्घाटन गरेका थिए।







