काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुले संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर दलहरू एक हुने निष्कर्ष निकालेका छन।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार छलफल भएको थियो। छलफलमार्फत विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने निष्कर्ष निकालिएको छ।
`संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।´ प्रधानमन्त्रीको सचिवालयले भन्यो।
छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए।



