काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा सिफारिसमा पर्नेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्। बढुवाका लागि सिफारिसमा परेका सबै जना हालका आइजीपी दीपक थापाका ब्याची हुन।
पहिलो नम्बरमा सिफारिसमा परेका खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन् भने दोस्रो नम्बरमा परेका आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन।
यसैगरी तेस्रो नम्बरमा सिफारिसमा परेका पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत छन् भने बढुवा सूचीमा चौथो नम्बरमा परेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत छन्।
यस्तै पाँचौ नम्बरमा सिफारिसमा परेका अधिकारी कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् भने छैठौं नम्बरमा सिफारिसमा परेका केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।
३० वर्षे सेवा अवधिका कारण २०८१ चैत ४ मा पूर्व आईजीपी वसन्त कुँवरसहित उनको ब्याचका एआईजीहरू अवकाशमा गएपछि एआईजीका ६ पद रिक्त थियो। एक महिनासम्म बढुवा प्रक्रिया रोकिंदा प्रहरी संगठनका ६ महत्वपूर्ण विभाग नेतृत्वविहीन बनेका थिए।




