काठमाडौं। २०५५ मा जारी भएको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको छ।
जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २६ वर्षपछि गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो ऐन सम्बन्धि प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि कार्यान्वयनमा आएको बताए। ऐन कार्यान्वयन भएपछि स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला हुनेछ।
मंगलबारको मन्त्रिपरिषद बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो।
ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो।
तर, त्यसयताका सरकारहरुले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रुपमा लागु भएको हुन सकेको थिएन। जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिकासमेत बन्न सकेको थिएन। ऐन कार्यान्वयनमा आउँदा अब साढे २ दशकपछि मन्त्रालयलाई यससम्बन्धि काम अघि बढाउन कानुनी बाटो खुला भएको छ।
नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए।
सन् २०१६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सुक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बाबालिकाकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो। जसका कारण उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन्।
व्यवहारिक रुपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको शुरुवात तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरु आवश्क काम गर्न सहज हुनेछ,’ बुढाथोकीले भने।



