काठमाडौं। नेपाल चिकित्सक संघले सरकारले चिकित्सकका माग पूरा नगरे देशभरका चिकित्सकलाई सडकमा उतार्ने चेतावनी दिएको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले उठाउँदै आएका माग ७२ घण्टा भित्र सम्बोधन नगरे देशभरका चिकित्सकलाई सडकमा उतार्ने गरेर आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको हो।
‘आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्समा १७ औँ बैठकले पुन थपेको सीट संख्या समेत जोडेर एक सीट पनि नघटाई भविष्यमा पनि पिजी सीट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात हुनुपर्यो। हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरुले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरुले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्यो।’ नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।
उल्लेखित मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए संघले देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उतार्ने चेतावनी दिएको हो।
‘चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तीभरण दिने निर्णय गरेको भन्दै सो निर्णयको तत्काल एवं निर्शत कार्यान्वयन नै नेपाल चिकित्सक संघको अन्तिम विन्दु हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ।
नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू एवं एमडी/एमएस/एमडीएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सहरू सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन।



