काठमाडौं। म्यानमारका भुकम्प प्रभावित घाइतेहरुको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको टोलि शुक्रबार स्वदेश फिर्ता भएको छ।
म्यानमारको म्याण्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी नेपाली सेनाले भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गरेको थियो। सो क्रममा १३३ जनाको शल्यक्रिया गरिएको सेनाले जनाएको छ।
नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहितको सैनिक टोलि म्यानमार गएको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार त्यहा रहँदा नेपाली सेनाका चिकित्सकहरुले २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार गरेको तथा ९६५ जना बिरामीहरूलाई ओ.पि.डि. सेवा प्रदान गरेको सेनाले जनाएको छ।
१२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायता टिम तथा ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय सैनिक टोली चैत २० गते आफ्नै जहाजमा म्यानमार तर्फ प्रस्थान गरेको थियो।



