काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले यसअघि सरकारले प्रदान गर्दै आइरहेकै सेवाको विवरण नयाँ डिजाइन गरिको आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
जसमा निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि समावेश छन। नयाँ डिजाइन गरिएको वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि राखिएको छ।
मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ। यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवा अन्तर्गत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ।
वेबसाईटमा सेवा प्राप्त गर्ने स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी राख्न भनेका थिए। सोही अनुसार मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा विस्तृत विवरण खुलाएको हो।
`नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो, मन्त्री पौडेलले भने,सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुने गरी सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौं।´
मन्त्री पौडेलले यसअघि संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सोही आधारमा अधिकांशले विवरण नागरिकले थाहा पाउने गरी राखिसकेका छन् ।
निःशुल्क सेवासम्बन्धी सबै विवरण वेबसाईटमार्फत प्राप्त गर्न सकिने छ।



