काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३४ औं स्थापना दिवसको सन्दर्भ पारेर परिषद्ले ११ औं शिखर सम्मेलन आयोजना गरेको हो।
सोल्टी होटलमा बिहीबारबाट सुरु भएको सम्मेलनको उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा हुने अध्ययन तथ्य र प्रमाणमा आधारित हुनु पर्ने बताइन। तथ्य र प्रमाणमा आधारित अध्ययनले सही नीति बनाउन मद्धत पुग्ने उनको भनाइ छ।
`तथ्य र प्रमाणमा आधारित स्वास्थ्य अनुसन्धाले सही नीति बनाउन मद्धत गर्छ, सही नीतिले नै दिगो विकास सम्भव हुन्छ।´सम्मेलनको उद्घाटन गर्दै मन्त्री भट्टराईले भनिन।

मन्त्री भट्टराईले नेपालको स्वास्थ्य अनुसन्धानका क्षेत्रमा परिषद्को महत्त्वपूर्ण भुमिका रहेको भन्दै तीन दशक अघिदेखि नेपालको स्वास्थ्य नीतिका लागि खेलेको भुमिकाको प्रशंसा गरिन।
उनले परिषद्को आयोजनामा हरेक वर्ष हुने वैज्ञानिक सम्मेलनले नयाँ खोज र अनुसन्धानका लागि बाटो देखाउनेसमेत बताइन। अझै पनि स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नीतिगत रुपमा धेरै काम गर्नु पर्ने अवस्था रहेको भन्दै पर्याप्त अनुसन्धानले मात्र नेपाललाई स्वास्थ्य अनुसन्धानका क्षेत्रमा विश्वमा नै स्थापित गराउने उनले बताइन।
भट्टराईले स्वास्थ्य र शिक्षा विकेन्द्रीत हुँदा आम सर्वसाधारणसम्म पहुँच पुगेको भन्दै स्वास्थ्य र शिक्षाका सवालमा तीनै तहका सरकार तथा स्वास्थ्य र शिक्षा मन्त्रालयका बीचमा समन्वय गरेर अघि बढ्नु पर्ने बताइन।

कार्यक्रममा धारणा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्वमा नै प्रविधिको विकास बढ्दो रहेको अवस्थामा नयाँनयाँ प्रविधिकामार्फत स्वास्थ्य अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्दा मात्रै स्वास्थ्य क्षेत्रको विकास हुने बताए। यसरी गरिने अनुसन्धान नागरिक लक्षित, सहज र प्रभावकारी हुनुपर्ने उनको जोड छ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले देशका लागि आवश्यक पर्ने जस्तोसुकै जनशक्ति आयोगलेतयार गर्ने बताए। उनले देशले लिने स्वास्थ्यको नीतिलाई आयोगले अनुसरण गर्दै अघि बढ्ने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले हरेक वर्ष गरिने शिखर सम्मेलनबाट आउने निष्कर्षका आधारमा सरकारले काम अघि बढाउन सकेमा देशको स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुग्ने बताए। उनले यसपटक देखि मन्त्रालयले त्यसतर्फ ध्यान दिनेसमेत प्रतिबद्धता जनाए।
परिषद्का अध्यक्ष प्राडा अजित रायमाझीले स्वास्थ्य अनुसन्धानलाई प्रभावकारी बनाउने दिशामा आफूहरु केन्द्रित रहेको धारणा राखे। उनले समय सापेक्ष स्वास्थ्य अनुसन्धानका लागि परिषदले ध्यान दिंदै आएको र भविष्यमा पनि त्यही नीति अवलम्बन गरिने बताए।
उनले ३४ औं वार्षिकोत्सबका अवसर पारेर आयोजित सम्मेलनमा स्वास्थ्य, जलवायु परिवर्तन र जनसंख्याको विषयसँगै स्वास्थ्यका विभिन्न मुद्धालाई एकसाथ छलफलको विषय बनाइएको बताए।

परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशीका अनुसार सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायतका देशबाट एक सय भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुदै छन।
यस्तै एक हजार बढी राष्ट्रिय स्तरका सहभागीहरूको उपस्थिति हुने डा जोशीले जानकारी दिए। सम्मेलनमा केही विदेशी तथा केही स्वदेशी विज्ञ भर्चुअल रुपमासमेत सहभागी हुनेछन।
सम्मेलनमार्फत स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धानको प्रवर्द्धन, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्ने र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीचको सहकार्यलाई बलियो बनाउने लक्ष्य लिइएको छ।
सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेछ।
यस्तै सम्मेलनमा स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने/नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल हुनेछ।
परिषद्ले सम्मेलनबाट प्राप्त निष्कर्षहरूमार्फत दिगो र उत्थानशील स्वास्थ्य प्रणाली विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सम्मेलन ३० चैतसम्म चल्ने छ।
परिषद्ले अघिल्ला वर्ष जस्तै यसपटक पनि विभिन्न अवार्ड वितरण गर्दैछ। कार्यक्रमको समापनका अवसरमा दिईने अवार्डको संख्या यसपटक १४ पुगेको छ। त्यसमध्ये स्वास्थ्य अनुसन्धान पत्रिकारिता अवार्ड यसपटक थपिएको छ।




